काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सुरु गरेको युद्ध उनको राष्ट्रपतिको कार्यकाललाई परिभाषित गर्ने सबैभन्दा ठूलो रणनीतिक गल्तीका रूपमा इतिहासमा कोरिन सक्ने विश्लेषण हुन थालेको छ।
इरानले आत्मसमर्पण गर्न वा वार्तामा आउन अस्वीकार गरेपछि ट्रम्पसामु तीन कठिन विकल्प देखिएका छन्। पहिलो, सीमित हवाई आक्रमण र समुद्री नाकाबन्दीलाई निरन्तरता दिने; दोस्रो, इरानका पूर्वाधार र नागरिक संरचनामाथि आक्रमण विस्तार गर्दै सीमित स्थलगत सैन्य अभियान सुरु गर्ने; वा तेस्रो, क्षति कम गर्दै युद्धबाट पछि हट्ने।
ह्वाइट हाउसबाट चेतावनी दिँदै ट्रम्पले इरानी नेतृत्वलाई ‘अविश्वासनीय रूपमा कपटी’ भनेका छन्। उनले सम्झौताका लागि यो अन्तिम अवसर भएको भन्दै नमाने नेतृत्व नै समाप्त पार्ने (डिक्यापिटेसन) चेतावनी दिएका छन्। अर्कोतर्फ, इरानमाथि दबाब बढाउन अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नयाँ रणनीतिबारे सैन्य विश्लेषकहरूसँग प्रस्ताव मागेको छ।
विश्लेषकहरूका अनुसार इरानको विद्युत् र पूर्वाधारमा आक्रमण भएमा इरानले खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि प्रतिशोध साध्न सक्छ, जसले युद्धलाई अझ महँगो र व्यापक बनाउनेछ।
इतिहासले देखाएको छ कि भियतनाम, इराक र अफगानिस्तान युद्धमा अमेरिकी राष्ट्रपतिहरू जित असम्भव भएपछि पनि प्रतिष्ठा जोगाउने नाममा युद्ध लम्ब्याएर गहिरो दलदलमा फसेका थिए। ट्रम्पले विगतमा ‘कहिल्यै नसकिने युद्ध’को आलोचना गरे पनि अहिले यो युद्ध अरूबाट प्राप्त नभई उनकै आफ्नै निर्णय भएकाले यसको अन्तिम परिणामले उनको राजनीतिक विरासत र भूराजनीतिक भविष्य निर्धारण गर्नेछ।




