पूजा धानुक मृत्यु प्रकरण: निष्पक्ष छानबिनको माग गर्दै पीडित पक्ष गृह मन्त्रालयमा

प्रकाशित मिति:

कञ्चनपुर । धनगढी उपमहानगरपालिका–४ निवासी २३ वर्षीया पूजा धानुकको शंकास्पद मृत्यु प्रकरणमा निष्पक्ष र प्रभावकारी अनुसन्धानको माग गर्दै पीडित पक्ष गृह मन्त्रालय पुगेको छ। माइती पक्षले निरन्तर न्यायको माग गर्दै आन्दोलन गरेपछि उनीहरूको आवाज गृह मन्त्रालयसम्म पुगेको हो।

मृतकका भाइ, आफन्त तथा राजनीतिक प्रतिनिधिहरू विजय जैरु, नरेन्द्रबहादुर चन्द, तेजबहादुर ठकुल्ला र चक्रदेव अवस्थीसहितको टोलीले गृहमन्त्रीसँग भेट गरी स्वतन्त्र अनुसन्धानको माग गरेको छ। उनीहरूले अनुसन्धानमा कुनै राजनीतिक प्रभाव पर्न नदिन र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

घटनापछि प्रहरीले मृतकका श्रीमान् सहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। यसअघि ढिलाइ भएको भन्दै आफन्तले शवको अन्त्येष्टि नगरी प्रदर्शनसमेत गरेका थिए। घटनाको वास्तविक कारण फरेन्सिक परीक्षण र प्रमाण सङ्कलनपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ। पीडित पक्षले न्याय नपाएसम्म अभियान जारी राख्ने बताएको छ।

ताजा समाचार