धनगढी । सेती प्रादेशिक अस्पताल प्रशासनले कार्यालय समयभित्र बाह्य निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा काम गर्न आफ्ना चिकित्सकहरूलाई पूर्ण रूपमा रोक लगाएको छ।
अस्पतालमा कार्यरत केही चिकित्सकहरू तोकिएको ड्युटीको समयमै बाहिरका निजी क्लिनिक र स्वास्थ्य संस्थामा सेवा दिन जाने गरेको व्यापक जनगुनासो आएपछि अस्पताल प्रशासनले उक्त कडा कदम चालेको हो। मंगलवार एक सार्वजनिक सूचना जारी गर्दै अस्पतालले यो निर्णय सार्वजनिक गरेको छ।
अस्पतालको नियमित सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सूचना जारी गरिएको जनाइएको छ। प्रशासनले सम्पूर्ण चिकित्सकहरूलाई निर्धारित समयभित्र आ-आफ्नो जिम्मेवारीमा अनिवार्य उपस्थित भई तोकिएको कार्यसम्पादन गर्न कडा निर्देशन दिएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेद्वारा हस्ताक्षरित सूचनामा तोकिएको समयमा कुनै पनि चिकित्सक गैरजिम्मेवार कार्यमा संलग्न रहेको पाइएमा प्रचलित कानुन तथा सेवा-सर्त बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने स्पष्ट चेतावनी दिइएको छ।




