बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्कने तयारीमा, भारतसँग सुपुर्दगीको माग

प्रकाशित मिति:

काठमाडौैं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा सक्रिय रहने सङ्केत दिएकी छन्। विश्लेषकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई अवामी लिगका समर्थकलाई एकजुट राख्ने, दलको राजनीतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।

भारतमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले जुलाईमा एएफपीसँगको कुराकानीमा वर्षको अन्त्यसम्म बङ्गलादेश फर्कने इच्छा व्यक्त गरेकी थिइन्। पक्राउ पर्न, जेल जान वा ज्यानसमेत गुम्न सक्ने सम्भावनाबारे जानकार रहे पनि जनताको आग्रहका कारण स्वदेश फर्कन चाहेको उनले बताएकी थिइन्। भारत गएको दुई वर्ष पूरा भएको अवसरमा बुधबार ‘शेख हसिनाको घर फर्कने’ शीर्षकको नयाँदिल्लीस्थित कार्यक्रममा उनले टेलिफोनमार्फत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

ढाकास्थित नर्थ साउथ विश्वविद्यालयका राजनीति विज्ञानका प्राध्यापक मोहम्मद जलाल उद्दीन सिकदरका अनुसार हसिना अझै पनि अवामी लिगका लागि प्रभावशाली राजनीतिक प्रतीक हुन्। हसिनाको सम्भावित पुनरागमनले प्रधानमन्त्री तारिक रहमान नेतृत्वको वर्तमान सरकारलाई थप राजनीतिक दबाबमा पार्न सक्ने विश्लेषक सिकदरको भनाइ छ। यद्यपि अवामी लिगका पूर्ववरिष्ठ नेता तथा हालका आलोचक महमुदुर रहमान मन्नाले हसिनाले अन्य नेतालाई अवसर दिनुपर्ने टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीका सल्लाहकार झाहेद उर रहमानले सरकारले हसिनालाई स्वदेश फर्कन स्वागत गर्ने र उनी फर्किए कानुन अनुसार न्यायिक प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन्। बङ्गलादेशले भारतसँग हसिनाको सुपुर्दगीका लागि औपचारिक अनुरोध गरिसकेको छ। हसिनाविरुद्ध उक्साहट, हत्या गराउन आदेश दिएको र अत्याचार रोक्न असफल भएको अभियोगमा अदालतले फैसला सुनाइसकेको छ।

यता, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले ‘शेख हसिनाको घर फर्कने’ कार्यक्रमसँग भारत सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। ‘अमर देश’ दैनिकका सम्पादक महमुदुर रहमानले यसलाई नयाँदिल्ली र ढाकाबिचको शक्ति सन्तुलनसँग जोडिएको राजनीतिक विषयका रूपमा हेरेका छन्।

ताजा समाचार