सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि प्रदेशभित्रका चारवटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल (टीचिङ हस्पिटल) का रूपमा प्रयोग गर्न अनुमति प्रदान गरेको छ। बिहीबार आयोजित प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त महत्त्वपूर्ण निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले कैलालीस्थित सेती प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल तथा कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन र उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो।
यसैगरी, मन्त्रिपरिषद्ले सम्बन्धित निकायहरूसँग आवश्यक सम्झौता (एमओयू) गर्ने तथा त्यसका लागि चाहिने कानुनी एवम् प्रशासनिक प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाउने निर्णयसमेत गरेको छ।
प्रदेश सरकारको यस निर्णयसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक संरचना विस्तार गर्ने बाटो खुला भएको छ। चारवटै प्रमुख अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्ने व्यवस्था भएसँगै अब सुदूरपश्चिम प्रदेशमै चिकित्सा शिक्षा (एमबिबिएसलगायतका विषय) को पठनपाठन सुरु गर्ने बलियो आधार तयार भएको छ।




