शेख हसिनालाई मिडियामा बोल्न दिएकोमा भारतसँग बङ्गलादेश आक्रोशित, हसिना डिसेम्बरमा फर्कने दाबी

प्रकाशित मिति:

काठमाडौं । बङ्गलादेशले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गरेको विषयमा कडा आक्रोश व्यक्त गरेको छ। बङ्गलादेशको राष्ट्रियता र जनता विरुद्ध सामूहिक अपराधको आरोप लागेकी हसिनालाई सार्वजनिक रूपमा बोल्न दिएकोमा ढाकाले भारतसँग गहिरो खेद व्यक्त गरेको छ।

बङ्गलादेशको विदेश मन्त्रालयद्वारा जारी प्रेस वक्तव्यमा फरार दोषी हसिनालाई भारतीय भूमिमा मिडियासँग अन्तरक्रिया गर्न दिनु बङ्गलादेशको सार्वभौमसत्ता र जुलाई क्रान्तिका शहीदको अपमान भएको उल्लेख छ। मन्त्रालयले २०१३ को प्रत्यर्पण सन्धि अनुसार हसिनालाई फिर्ता पठाउन बारम्बार गरिएको अनुरोधको बेवास्ता गर्दै मिडियामा बोल्न दिनुले दुई देशको द्विपक्षीय सम्बन्धमा असर पुग्ने चेतावनी दिएको छ।

उता, बङ्गलादेशबाट हटेपछि नयाँदिल्लीबाट पहिलो पटक भर्चुअल पत्रकार सम्मेलन गर्दै पूर्वप्रधानमन्त्री हसिनाले आउँदो डिसेम्बरमा मातृभूमि फर्कने निर्णय घोषणा गरेकी छन्। उनले गिरफ्तारी वा ज्यानको जोखिम जुनसुकै परिणाम भोग्न तयार रहेको बताउँदै आफ्ना समर्थक र देशवासीलाई छोडेर विदेशमा बस्न नसक्ने उल्लेख गरेकी छन्।

ताजा समाचार