काठमाडौं । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको खतराबारे पुनः सचेत गराएको छ। यस अवसरमा हिरोसिमाका मेयर काजुमी मात्सुईले प्रमुख शक्तिबिच बढ्दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोधको अवधारणाप्रति तीव्र चिन्ता व्यक्त गर्दै आणविक हतियारलाई सुरक्षाको माध्यम मान्ने प्रवृत्तिले विश्वलाई पुनः त्रासदीतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।
हिरोसिमा शान्ति स्मारक पार्कमा आयोजित समारोहमा करिब ५० हजार मानिसको सहभागिता रहेको थियो। संयुक्त राज्य अमेरिका, इरानलगायत करिब १२० देश तथा क्षेत्रका प्रतिनिधि उपस्थित कार्यक्रममा सन् १९४५ मा बम खसालिएको समय बिहान ८:१५ बजे एक मिनेट मौनधारण गरिनुका साथै शान्तिको प्रतीक स्वरूप घण्टी बजाइएको थियो।
समारोहमा जापानकी प्रधानमन्त्री साने ताकाइचीले राष्ट्रसङ्घको आणविक अप्रसार सन्धिको ढाँचाभित्र रहेर आणविक हतियाररहित विश्व निर्माणका लागि जापानले यथार्थवादी दृष्टिकोण अपनाउने बताएकी छन्। जापानले तीन गैर-आणविक सिद्धान्त कायम राखेको उल्लेख गरे पनि नयाँ सुरक्षा रणनीतिका कारण तेस्रो सिद्धान्त (देशभित्र आणविक हतियार ल्याउन अनुमति नदिने) माथि पुनर्विचार हुन सक्ने अड्कलबाजी पनि भइरहेको छ।
सन् १९४५ अगस्ट ६ मा हिरोसिमामा भएको आणविक हमलामा करिब एक लाख ४० हजार र त्यसको तीन दिनपछि नागासाकीमा भएको आक्रमणमा करिब ७० हजार मानिसको मृत्यु भएको थियो। हाल हिरोसिमा र नागासाकीका जीवित पीडितको सङ्ख्या ९१ हजार १०५ मा झरेको छ भने उनीहरूको औसत उमेर ८६ वर्षभन्दा माथि पुगेको छ।




