काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलोपटक भाग्यशाली विजेताहरूको नाम घोषणा गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित कार्यक्रममार्फत विजेताहरूको नामावली सार्वजनिक गरिएको हो।
कार्यक्रम सुरु भएपछिको यो पहिलो नतिजा हो, जसअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार कञ्चनपुरको शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले जितेका छन्। उनले १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गरेका हुन्।
यसैगरी, करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउनको पहिलो १५ दिनको अवधिमा अन्य १५ जना उपभोक्ताले पनि एक–एक लाख रुपैयाँको उपहार प्राप्त गरेका छन्। सर्वसाधारणलाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउन सरकारले यो योजना ल्याएको हो।




