काठमाडौं । नेपाल शिक्षक महासङ्घले आगामी भदौ महिनादेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ। महासङ्घको तेस्रो राष्ट्रिय परिषद् बैठकका निर्णयहरूबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भदौदेखि आन्दोलनमा जाने औपचारिक निर्णय सार्वजनिक गरिएको हो।
राष्ट्रिय परिषद् बैठकले आन्दोलनको घोषणासहित १५ बुँदे निर्णय पारित गरेको छ। आन्दोलनको ठोस मिति र स्वरूप तय गर्ने अधिकार भने परिषद् बैठकले विस्तारित कार्यदलीय बैठकलाई सुम्पेको महासङ्घले जनाएको छ।
अतीतमा भएका सहमति र वर्तमानका नयाँ शैक्षिक तथा पेसागत मागहरूलाई समेत समेटेर भदौदेखि सङ्घर्षका कार्यक्रम अघि बढाउने निर्णय भएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।




