काठमाडौं । नेकपा (एमाले) मा पार्टी सङ्गठन सुदृढीकरण तथा निर्वाचन परिणामको समीक्षा गर्न गठित कार्यदलले तयार पारेको ५६ पृष्ठको प्रतिवेदन विवादित बनेको छ। कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्य सचिव एवं महासचिव शङ्कर पोखरेलले तयार पारेको प्रतिवेदन कार्यदलमा छलफल हुनुअघि नै अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएपछि केही सदस्यहरूले असन्तुष्टि जनाएका छन्।
गत असार २५ को बैठकले प्रतिवेदन लेखनको जिम्मा दिएपछि पोखरेल र थापाले मस्यौदा तयार पारेका थिए। तर, कार्यदलमा छलफल नै नगरी सीधै अध्यक्षलाई बुझाइएको भन्दै कार्यदलका सदस्यहरू छविलाल विश्वकर्मा र पद्मा अर्यालले आधिकारिक जानकारी नभएको बताएका छन्। प्रतिवेदनमा वर्तमान कार्यसमितिको वैधानिकता सकिएको निष्कर्ष निकालिएको र विशेष महाधिवेशनको अवधारणा अघि सारिएको चर्चाले पार्टीभित्र तरङ्ग ल्याएको छ। प्रतिवेदन हात परेपछि अध्यक्ष ओलीले ‘निबन्ध लेखियो कि महाभारत ?’ भन्दै कटाक्ष गरेको स्रोतको दाबी छ।
प्रतिवेदन आएपछि अध्यक्ष ओलीले कार्यदल, सचिवालय र केन्द्रीय कमिटीका बैठकहरू रोकेर आफ्नो पक्षमा लबिङ सुरु गरेको आरोप लागेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिन भनिएको र त्यसमा सचिव शेरधन राईमार्फत दबाब बढाइएको विषयले पनि पार्टीभित्र विवाद बढाएको छ।
यसैबिच, जेठ ८ गतेदेखि सचिवालय बैठक नबसेकाले तत्काल बैठक बोलाउन एमाले पदाधिकारीहरूले अध्यक्ष ओलीलाई दबाब दिएका छन्। उपमहासचिव लेखराज भट्टले प्रतिवेदनलाई कार्यदलबाट अनुमोदन गराएर मात्र सचिवालयमा पेस गरिने बताएका छन्। यद्यपि, अध्यक्ष ओलीसँग सहमति नभए महासचिव पोखरेलले सो प्रतिवेदनलाई अलग्गै पेस गर्ने तयारी गरेको उनी निकट नेताहरूले जनाएका छन्।




