दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित कर्णाली राजमार्गमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परेर कैलालीको गोदावरी नगरपालिका–८ का ४१ वर्षीय प्रेमबहादुर रोकाय क्षेत्रीको घटनास्थलमै ज्यान गएको हो।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको भे १४ प ६७१४ नम्बरको मोटरसाइकल तल्लो डुङ्गेश्वर बजारको पुलमा जुधेका थिए। दुई सवारीको बिचमा च्यापिएर मोटरसाइकल चालक क्षेत्रीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) जयसिंह गुरुङले जानकारी दिए।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।




