काठमाडौं । विश्व आदिवासी दिवसका अवसरमा काठमाडौँमा विविध सांस्कृतिक झाँकी र भेषभूषासहित बृहत् र्याली आयोजना गरिएको छ।
भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत भएको हो। र्यालीमा नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार र ह्योल्मोलगायत विभिन्न आदिवासी जनजाति समुदायको मौलिक भेषभूषा, बाजागाजा, लोकगीत तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।
समारोहमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकारका साथै सरकारी उच्च अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि र मानवअधिकारकर्मीहरूको सहभागिता रहेको थियो।
आदिवासी जनजातिको अधिकार, पहिचान र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मनाइने यो दिवसले परम्परागत ज्ञान र प्राकृतिक स्रोतसँगको सम्बन्धलाई उजागर गर्ने महासंघले जनाएको छ। साथै, संविधानमा उल्लिखित अधिकारको कार्यान्वयन, समानुपातिक प्रतिनिधित्व, मातृभाषामा शिक्षा र सांस्कृतिक सम्पदाको संरक्षण अझै मुख्य विषय रहेको महासंघको भनाइ छ।




