करोडौँको लगानीमा बनेको पाटन विमानस्थल : पूर्वाधार तयार, उडान ठप्प

प्रकाशित मिति:

बैतडी । करोडौँ रुपियाँ खर्च गरेर पुनर्निर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थलभन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्बिर बनाउने थलोका रूपमा प्रयोग हुन थालेको छ। विमानस्थलमा नियमित उडान नहुँदा धावनमार्गमा पुगेर टिकटक र अन्य भिडियो सामग्री बनाउनेको घुइँचो लाग्ने गरेको छ।

सुदूरपश्चिमका पहाडी जिल्लालाई हवाईसेवासँग जोड्ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा उडान नहुँदा राज्यको करोडौँ लगानी उपयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशीका अनुसार विमानस्थल सञ्चालनमा नआएपछि धावनमार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्बिर खिच्नेको भिड लाग्न थालेको छ।

२०५२ सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण २०७३ सालतिर सुरु गरिएको थियो। करिब ११ करोड रुपियाँको लागतमा २० मिटर चौडाइ र ५८० मिटर लम्बाइको धावनमार्ग, टावर तथा कार्यालय भवन निर्माण गर्ने गरी सम्झौता भएको थियो। सम्झौता अनुसार करिब चार वर्षमा निर्माण काम सम्पन्न भयो।

पुनर्निर्माणपछि २०७७ असोजदेखि विमानस्थल आंशिक रूपमा सञ्चालनमा आएको थियो। त्यसपछि करिब दुई वर्षसम्म निजी क्षेत्रको समिट एयरले धनगढीबाट पाटनसम्म साप्ताहिक उडान गर्‍यो। तर पछिल्लो करिब पाँच वर्षदेखि नियमित उडान हुन नसक्दा विमानस्थल प्रयोगविहीन जस्तै बनेको स्थानीयको भनाइ छ।

विमानस्थलका लागि करिब चार करोड ९७ लाख रुपियाँको लागतमा टर्मिनल भवनसमेत निर्माण भइसकेको छ। पूर्वाधार तयार भए पनि नियमित हवाईसेवा सञ्चालन नहुँदा स्थानीयले यसको औचित्यमाथि प्रश्न उठाएका छन्।

स्थानीय हरिश विष्टका अनुसार विमानस्थल सञ्चालनमा आएको भए बिरामी तथा घाइतेलाई आकस्मिक अवस्थामा धनगढी वा अन्यत्र लैजान सहज हुन्थ्यो। पूर्वाधार तयार भएर पनि जहाज नआउँदा स्थानीयले प्रत्यक्ष लाभ लिन सकेका छैनन्। अर्का स्थानीय खेमराज भट्ट आपत्कालीन अवस्थामा समेत हवाईसेवा नहुँदा ठुलो लगानी खेर गइरहेको बताउँछन्। विमानस्थल नियमित सञ्चालनका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ।

पहाडी क्षेत्रको हवाई पहुँच विस्तार गर्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको यस विमानस्थलको दिगोपना र लगानीको उपयोगितामाथि प्रश्न उठेको छ। स्थानीयले नियमित उडानको व्यवस्था, विमान कम्पनीसँग समन्वय र प्राविधिक पक्षमा ध्यान दिएर विमानस्थललाई आपत्कालीन तथा नियमित हवाई पहुँचको माध्यम बनाउन माग गरेका छन्।

ताजा समाचार