काठमाडौं । औपचारिक रूपमा उद्घाटन भइसकेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गरिने भएको छ। हाल यो सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको सडक विभागले जनाएको छ।
सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई. शुभराज न्यौपानेका अनुसार सुरुङमार्ग सर्वसाधारणका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ। सुरुङभित्र आगलागी वा अन्य आपत्कालीन अवस्था सिर्जना भएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा अन्तिम अभ्यास परीक्षण भइरहेकाले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला नगरिएको उहाँले बताउनुभयो।
हाल सुरुङमार्गमा राखिएका ब्यारिकेड तथा ड्रमहरू सुरक्षा परीक्षण र तयारीकै क्रममा प्रयोग गरिएको विभागले स्पष्ट पारेको छ। अन्तिम सुरक्षा परीक्षण सम्पन्न हुनासाथ सुरुङमार्ग सबैका लागि खुला गरिने र त्यसका लागि साउनभित्रैको समयसीमा राखिएको छ।
साउनको दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको औपचारिक उद्घाटन भएको थियो। निर्माण सुरु भएको सात वर्षपछि उद्घाटन भएको यो सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप घट्ने र यात्रा समय बचत हुने विश्वास लिइएको छ।




