दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा देखिएका पाँच वटा शव सङ्कलन तथा पहिचानका लागि भइरहेको प्रयास खराब मौसमका कारण प्रभावित भएको छ।
स्थानियले हिमाल क्षेत्रमा शवहरू देखेको खबर गरेपछि उद्धार तथा अनुगमनका लागि सिमीगाउँबाट हेलिकोप्टर उडानको प्रयास गरिए पनि प्रतिकुल मौसमका कारण घटनास्थलसम्म पुग्न नसकिएको गौरीशङ्कर–९ का वडाध्यक्ष ङिमागेली शेर्पाले जानकारी दिनुभएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ‘ड्रिम डेस्टिनेसन’ मार्फत शुक्रबार हेलिकोप्टर पठाइए तापनि मौसममा सुधार नआउँदा शवको आधिकारिक पुष्टि र सङ्कलन हुन सकेको छैन। जिल्ला प्रहरी प्रमुख मनोजकुमार लामाका अनुसार आधार शिविर नजिकै देखिएका यी शवहरू गत वर्ष कात्तिक १७ गते हिमपहिरोमा परी बेपत्ता भएका आरोहीहरूका हुन सक्ने अनुमान गरिएको छ।
गत वर्ष १५ जनाको टोली (५,६३० मिटर उचाइमा रहेको) यलुङ–री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेको थियो। उक्त घटनामा आठ जनाको सकुशल उद्धार गरिएको थियो भने दोलखाका पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको शव त्यतिबेलै बरामद भएको थियो।
सोही हिमपहिरोमा बेपत्ता भएका फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो गरी पाँच जना विदेशी नागरिकको खोजी कार्य निरन्तर हिमपातका कारण स्थगित गरिएको थियो। हिउँ पग्लिएपछि अहिले शव पुनः देखिएकाले उद्धार टोलीले खोजी प्रक्रिया अगाडि बढाएको हो।




