कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट अवैध कटुवा पेस्तोलसहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन २५ गते अपराह्न करिब १६:०० बजे भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारी क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–०१ बस्ने २० वर्षीया पारस रोकाया, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–०३ बस्ने १८ वर्षीय बिपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेश सिंह र कञ्चनपुरकै कृष्णपुर नगरपालिका–०६ बस्ने २० वर्षीय राजेन्द्र सिंह गोयला रहेका छन्।
शङ्कास्पद अवस्थामा फेला परेका उनीहरूलाई सोधपुछ तथा जाँच गर्दा मोवाइलमा कटुवा पेस्तोलसहितको फोटो र भिडियो देखिएको थियो। त्यसपछि थप अनुसन्धानका क्रममा बिपिन सिंह बस्दै आएको भीमदत्त नगरपालिका–१८ मामा भान्जा चोकस्थित डेरा कोठामा खानतलासी गर्दा लुकाइछिपाई राखिएको कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिए।
पेस्तोल बरामद गरी पक्राउ परेका चारै जनामाथि कानुन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




