सुदूरपश्चिममा ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा

प्रकाशित मिति:

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बाजुरा र अछामका धार्मिक तथा प्राकृतिक महत्त्व बोकेका भूभागलाई समेटेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ को घोषणा गरेको छ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार धनगढीमा आयोजित एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ (१) को व्यवस्था अनुसार उक्त क्षेत्रलाई वन संरक्षण क्षेत्रका रूपमा औपचारिक घोषणा गरेका हुन्।

यसअघि साउन १९ गते मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बडीमालिका र रामारोशन क्षेत्रलाई संरक्षण क्षेत्र बनाउने निर्णय गरेको थियो।

घोषित नयाँ संरक्षण क्षेत्रले दुवै जिल्लाका विभिन्न स्थानीय तहका वडाहरूलाई समेटेको छ। जसअनुसार बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिकाका वडा नम्बर ५, ६, ७ र ९ परेका छन्। त्यसैगरी, अछाम जिल्लाको मेल्लेख गाउँपालिकाका वडा नम्बर १ र २ तथा रामारोशन गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ यसभित्र समावेश गरिएका छन्।

यो संरक्षण क्षेत्र कुल ४९८.४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

ताजा समाचार