काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मन्त्री नियुक्त भएपछि पहिलोपटक बुधबार गृहजिल्ला तनहुँ जाने भएका छन्। दुईदिने भ्रमणका क्रममा उनले जिल्लाका विभिन्न स्थानमा पुगेर स्थानीय बासिन्दा, उद्योगी–व्यवसायी, जनप्रतिनिधि तथा सरोकारवालासँग भेटघाट र छलफल गर्नेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका अर्थमन्त्री वाग्ले तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला जान लागेका उनले जिल्लाको विकास निर्माण, स्थानीय समस्या तथा आर्थिक गतिविधिका विषयमा सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम छ।
रास्वपा तनहुँका सभापति विश्व बास्तोलाका अनुसार भ्रमणका क्रममा जिल्लाका स्थानीय प्राथमिकता, विकासका आवश्यकता र नागरिकका अपेक्षाबारे अर्थमन्त्री वाग्लेले जानकारी लिनेछन्।
सार्वजनिक कार्यतालिका अनुसार अर्थमन्त्री वाग्ले बुधबार अपराह्न ४ बजे आँबुखैरेनी उद्योग वाणिज्य सङ्घको हलमा आयोजना हुने नागरिक संवाद कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि बेलुका ६ बजे बन्दीपुरमा स्थानीयसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
यस्तै, बिहीबार बिहान ११:३० बजे तनहुँ सदरमुकाम दमौलीमा आयोजना हुने जिल्ला समन्वय समितिको कार्यक्रममा उनी सहभागी हुनेछन्। सोही दिन दिउँसो २:३० बजे दमौलीस्थित अतिथि गृहमा उद्योगी–व्यवसायी, जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय गरिएको छ।




