काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई भेट्न पुगेका उनका कानुनी व्यवसायी र परिवारका सदस्यहरूलाई प्रहरीले रोक लगाएको छ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसहितका वकिल, श्रेष्ठकी श्रीमती तथा सञ्चारकर्मी सम्बद्ध सङ्घ-सङ्गठनका प्रतिनिधिहरूलाई भेट्न नमिल्ने भन्दै प्रहरीले फर्काइदिएको हो। आज प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, महासचिव मनोज घर्ती र नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल श्रेष्ठलाई भेट्न परिसर पुगेका थिए।
प्रेस सेन्टरका महासचिव मनोज घर्तीका अनुसार प्रहरीले श्रेष्ठको निवासबाट पठनपाठन र लेखनका लागि राखिएका परिवारका सदस्यहरूका ल्यापटपसमेत नियन्त्रणमा लिएको छ। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरमा हिजो पक्राउ परेका श्रेष्ठको ललितपुरस्थित जनआस्थाको कार्यालयमा प्रहरीले आज बिहान खानतलासी गरेको थियो।
अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले श्रेष्ठलाई सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत उपस्थित गराउने तयारी गरेको छ। नेपाल पत्रकार महासङ्घ, नेपाल मिडिया सोसाइटी लगायतका संस्थाहरूले श्रेष्ठको पक्राउ र पत्रिकाको कार्यालयमा गरिएको खानतलासीको कडा विरोध गर्दै अविलम्ब रिहाइ र प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन्। महासङ्घले आजै जिल्ला प्रहरी परिसर अगाडि विरोध प्रदर्शन र धर्नासमेत दिएको छ।




