काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। लगानी योग्य रकम पर्याप्त रहनुका साथै कर्जाको माग अपेक्षाकृत रूपमा बढ्न नसकेका कारण भदौमा पनि वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ।
२० वाणिज्य बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर साउनको तुलनामा ०.०३१५ प्रतिशत विन्दुले ओरालो लागेर ४.१३६० प्रतिशत कायम भएको छ। यसअघि साउनमा यो दर औसत ४.१६७५ प्रतिशत रहेको थियो।
भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड, कुमारी र सिद्धार्थ बैंक गरी ५ बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। नबिल र प्रभु बैंकको ब्याजदर अन्यको तुलनामा केही बढी (४.५५ प्रतिशत) देखिए पनि उक्त दर १० वर्षभन्दा बढी अवधिको निक्षेपका लागि मात्र लागू हुनेछ।
यो परिमार्जित दर भदौमा खोलिने नयाँ मुद्दती खाता र नवीकरण हुने निक्षेपमा मात्र लागू हुनेछ। निक्षेपको दर घट्दा बैंकहरूको आधार दर घट्न गई कर्जाको ब्याजदर समेत सस्तिनेछ। वित्तीय प्रणालीमा थुप्रिएको रकम व्यवस्थापन गर्न राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा तथा निक्षेप सङ्कलन जस्ता उपकरणमार्फत निरन्तर तरलता खिचिरहेको छ।




