वीरगञ्ज। वीरगञ्जस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) र एक गाउँपालिका अध्यक्षसहित आठ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा सञ्चालित ‘गोल्डेन फिंगर गेमिङ जोन प्रालि’ नामक क्यासिनोबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नेपाली नागरिकलाई कानुनविपरीत क्यासिनो प्रवेश गराई जुवा खेलाएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय पोखरिया, पर्सामा कार्यरत नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल, पर्साको सखुवाप्रसौनी गाउँपालिकाका ३६ वर्षीय अध्यक्ष जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओम प्रकाश बैठा रहेका छन्।
त्यसैगरी नेपाली नागरिकहरूलाई क्यासिनोभित्र प्रवेश गराउने कार्यमा संलग्न क्यासिनोका चार जना कर्मचारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका कर्मचारीहरूमा वीरगञ्ज–१४ का २८ वर्षीय विजय कुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेश कुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह छन्। पक्राउ परेका सबैमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।




