पहिरोको जोखिमपछि दार्चुलाको भट्टाड बस्ती सुरक्षित स्थानमा स्थानान्तरण

प्रकाशित मिति:

दार्चुला। दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टाड क्षेत्रमा शुक्रबार साँझ पहाडबाट खसेको ठुलो पहिरोका कारण उच्च जोखिममा परेका १० परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। पहिरोले आंशिक रूपमा थुनिएको चमेलिया नदीको जलप्रवाह शनिबारदेखि नियमित रूपमा सञ्चालनमा आएको छ।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराका अनुसार ठुलो पहिरो खस्न रोकिएपछि नदी बिनाअवरोध बगिरहेको छ। तर घटनास्थलमा सानातिना पहिरो खस्ने क्रम अझै जारी रहेकाले भट्टाड बस्तीका बासिन्दा, वस्तुभाउ र सरसामानलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पालिकाको विपद् व्यवस्थापन टोली र स्थानीयको सहयोगमा गुरसाड बस्तीमा सारिएको छ। दीर्घकालीन व्यवस्थापन नभएसम्म उनीहरू गुरसाडमै रहनेछन्।

स्थानीय मञ्जु लोथ्यालका अनुसार मानवीय तथा भौतिक संरचनामा क्षति नपुगे पनि किसानको बालीनाली पहिरोले पुरेको छ। क्षतिको यकिन विवरण सङ्कलन गर्न गाउँपालिकाले प्राविधिक कर्मचारी परिचालन गरेको छ भने प्रभावित परिवारका लागि त्रिपाल तथा म्याट्रेसलगायतका राहत सामग्री उपलब्ध गराइएको छ।

पहिरोका कारण सिती गाउँबाट खायकोट, ल्वाथी र अपिहिमाल बेसक्याम्प जाने बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै पदमार्गअन्तर्गत धनबोरा भन्के क्षेत्रमा चमेलिया नदीमाथिको काठेपुल एकापट्टि भाँचिएकाले पदयात्रा जोखिमपूर्ण बनेको छ। गाउँपालिकाले तत्कालका लागि बेसक्याम्प पदयात्रा स्थगित गर्न, पुलबाट भारी सामान तथा खच्चड नलैजान र सिती गाउँका विद्यार्थीलाई जोखिम नघटेसम्म सुरक्षित स्थानमै बस्न सूचना जारी गरेको छ।

ताजा समाचार