काठमाडौं । अब आफ्नो नागरिकता हराएमा, च्यातिएमा वा कुनै कारणले नष्ट भएमा प्रतिलिपि लिन गृहजिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ कार्यान्वयनमा आएसँगै काठमाडौँ उपत्यकाबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था मिलाइएको हो।
सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ मा गरिएको प्रतिबद्धताअनुसार यो सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। काठमाडौँ उपत्यकामा सेवाग्राहीको चाप व्यवस्थापन गर्न गृह मन्त्रालयको निर्देशनअनुसार तीनवटै जिल्ला प्रशासन कार्यालयलाई प्रदेशअनुसार जिम्मेवारी बाँडिएको छ।
जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँले बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट नागरिकता लिएका नागरिकहरूलाई प्रतिलिपि उपलब्ध गराउनेछ। यस्तै ललितपुर प्रशासनबाट सुदूरपश्चिम र कर्णाली प्रदेश तथा भक्तपुर प्रशासनबाट कोशी र मधेश प्रदेशका नागरिकले यो सेवा पाउनेछन्।
राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा अभिलेख हुबहु मिलेपछि मात्र प्रतिलिपि जारी गरिनेछ। तर डिजिटल प्रणालीमा अभिलेख नभेटिएमा, विवरण साविकभन्दा फरक पार्न खोजिएमा वा नागरिकता शङ्कास्पद देखिएमा भने पहिले नागरिकता लिएकै जिल्ला पुग्नुपर्ने प्रशासनले जनाएको छ।







