कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले कञ्चनपुरका स्थानीय तहहरूका लागि रासायनिक मलको कोटा निर्धारण गरेको छ। प्रदेश मल वितरण व्यवस्थापन समितिबाट प्राप्त भएको युरिया र डिएपी मल स्थानीय तहको आवश्यकताअनुसार बाँडफाँट गरिएको हो।
कम्पनीका महेन्द्रनगर शाखा प्रबन्धक हेमराज जोशीका अनुसार शाखालाई प्राप्त ५४१ मेट्रिक टन युरिया र ४८७ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएको हो। जसअन्तर्गत भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकालाई समान १०३ मेट्रिक टन युरिया र ९३ मेट्रिक टन डिएपी मल छुट्याइएको छ। यस्तै बेदकोट नगरपालिकालाई ९५ मेट्रिक टन युरिया र ८५ मेट्रिक टन डिएपी, शुक्लाफाँटा नगरपालिकालाई ९५ मेट्रिक टन युरिया र ८६ मेट्रिक टन डिएपी, दोधारा चाँदनी नगरपालिकालाई ७९ मेट्रिक टन युरिया र ७१ मेट्रिक टन डिएपी तथा बेलडाँडी गाउँपालिकालाई ६४ मेट्रिक टन युरिया र ५७ मेट्रिक टन डिएपी मलको कोटा तोकिएको छ।
स्थानीय तहले आ-आफ्नो क्षेत्रभित्रका सहकारीलाई मलखाद उपलब्ध गराउन गरेको सिफारिसका आधारमा बुधबारदेखि नै रासायनिक मल वितरण सुरु गरिने प्रबन्धक जोशीले बताउनुभयो। मल बिक्री गर्ने सहकारीहरूले किसानलाई वितरण गरेको सम्पूर्ण विवरण एफएमएस प्रणालीमा अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ। साथै अनुदानको मल वितरण व्यवस्थापन कार्यविधिअनुसार आवश्यक प्रतिवेदन स्थानीय तहबाट प्रमाणित गराई १० दिनभित्र मल उठाइसक्न कम्पनीले अनुरोध गरेको छ।







