कात्तिक १२ देखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन कञ्चनपुर प्रशासनको आग्रह

प्रकाशित मिति:
spot_img

कञ्चनपुर । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण प्रतिकूल मौसमको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कात्तिक १२ गते बिहीबारदेखि १५ गते आइतबारसम्म उच्च सतर्कता अपनाउन जिल्लावासीसँग आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीद्वारा जारी सूचना अनुसार मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वअनुमानलाई ध्यानमा राख्दै सम्भावित क्षति न्यूनीकरणका लागि विभिन्न सावधानीका उपायहरू अपनाउन भनिएको छ।

प्रशासनले महाकाली नदीलगायत स्थानीय खोलानालाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय र डुबान क्षेत्रका बासिन्दालाई विशेष सतर्क रहन सूचित गरेको छ। यसैगरी भारी वर्षाको समयमा यात्रा नगर्न, नदी तथा खोलामा पानीको सतह बढेको हेर्न, फोटो वा भिडियो खिच्न, नुहाउन, पौडी खेल्न, दाउरा सङ्कलन गर्न र माछा मार्न नजान आग्रह गरिएको छ। खेतबारीमा काटेर राखिएको धानबाली तथा कृषि उपज र पशुपन्छीको सुरक्षा गर्न, महत्त्वपूर्ण कागजात, खाद्यान्न, औषधि र मोबाइललाई डुबानबाट जोगाएर सुरक्षित स्थानमा राख्न पनि प्रशासनले आग्रह गरेको छ। विपद्को अवस्थामा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी र फरक क्षमता भएका व्यक्तिलाई प्राथमिकतामा राखी सुरक्षित आश्रयस्थलमा सार्न निर्देशन दिइएको छ। विपद् उद्धार तथा सूचनाका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) को नम्बर १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।

spot_img

ताजा समाचार