कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–९ लालपुरका प्रकाश कलौनीले आफ्नी छोरी आराध्या कलौनीको दोस्रो जन्मदिनको अवसर पारेर स्थानीय रामलीला समितिलाई आर्थिक सहयोग गरेका छन्। धार्मिक तथा सांस्कृतिक संरक्षणमा टेवा पुर्याउने उद्देश्यले उनले सुन्दरपुरस्थित श्री सुन्दरपुर रामलीला समितिलाई ११ हजार १११ रुपियाँ प्रदान गरेका हुन्। उक्त रकम प्रकाशका भाइहरू वीरेन्द्र कलौनी र सागर कलौनीले डिजिटल माध्यम (क्यूआर कोड) मार्फत समितिको खातामा पठाएका छन्।
कलौनी परिवारले विगतदेखि नै आफ्ना बालबालिकाको जन्मोत्सवमा फजुल खर्च नगरी सामाजिक सेवामा लगाउँदै आएको छ। यसअघि परिवारले छोरा योगेशको जन्मदिन अनाथालयमा तथा छोरी आरवीको जन्मदिन बैजनाथ धाम वृद्धाश्रममा मनाएर रचनात्मक कार्य गर्दै आएको थियो। छोरी आराध्याको जन्मोत्सवमा प्राप्त सहयोगले समितिका विभिन्न गतिविधि अघि बढाउन मद्दत पुग्ने श्री सुन्दरपुर रामलीला समितिका कोषाध्यक्ष दलबहादुर कुँवरले जानकारी दिएका छन्। उनले कलौनी परिवारको यस सकारात्मक कार्यका लागि धन्यवाद समेत दिएका छन्।







