काठमाडौं । देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारी वर्षा हुनसक्ने सम्भावना छ। प्रतिकूल मौसमका कारण बाढीपहिरो, भूक्षय तथा हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएकाले पदयात्रा र हिमाल आरोहण प्रभावित हुनसक्ने विभागले जनाएको छ।
विभागले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र त्यस क्षेत्रमा पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई सुरक्षित रहँदै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, आधिकारिक निकायबाट जारी हुने अद्यावधिक मौसम सूचनाका आधारमा मात्र यात्राको योजना बनाउन भनिएको छ। यसै गरी खुम्बु र मनाङसहित काठमाडौँ तथा पोखराका स्वास्थ्य संस्थाहरूलाई लेक लाग्ने समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा निरन्तर र प्रभावकारी रूपमा उपलब्ध गराउन विभागले अपिल गरेको छ।







