काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका दुई नाबालकलाई अदालतले पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको छ।
बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म दुवै नाबालकलाई वीरगञ्जस्थित बाल सुधारगृहमा राख्न आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेका अनुसार अदालतको आदेशलगत्तै उनीहरूलाई सुधारगृह पठाइएको छ। घटनामा संलग्न रहेको आरोपमा १६ र १४ वर्षीय दुई बालक पक्राउ परेका थिए।
अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा ती बालकसँग गरिएको सोधपुछको भिडियो सार्वजनिक गर्ने प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएर वैयक्तिक गोपनीयता तथा विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसै घटनामा प्रतिवादी बनाइएका प्रोग्रेश चौधरीसहित १० जनालाई भने अदालतले रिहा गर्न आदेश दिएको छ। अदालतले प्रोग्रेशलाई २० हजार रुपियाँ धरौटीमा र अन्य नौ जनालाई घटनामा संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको भन्दै साधारण तारेखमा छाड्ने आदेश दिएको हो।
गत साउन ३१ गतेदेखि हराएकी बालिकाको शव भदौ २ गते घरनजिकैको खाली घरमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो।




