कांग्रेस महामन्त्री खड्काको पालिका चौरपाटी–३ मा भएन वडा अधिवेशन

प्रकाशित मिति:

अछाम । नेपाली कांग्रेसमा आन्तरिक विवादकाबीच अधिवेशन प्रक्रिया जारी रहेका बेला अछामको चौरपाटी गाउँपालिका–३ गगुडामा वडा अधिवेशन हुन सकेन ।

चौरपाटी गाउँपालिकाका ७ वडा मध्य छ वडामा अधिवेशन भएपनी वडा नम्बर ३ गगुडामा भने कांग्रेसभित्रको आन्तरिक विवादका कारण वडा अधिवेशन हुन नसकेको बताइएको छ ।

गगुडा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री एवम् पूर्वमन्त्री मेघराज खड्काको पालिकामा पर्ने वडा हो । महामन्त्री खड्का देउवा पक्षका नेता हुन । देउवा नेतृत्वको संस्थापनइतर पक्षले असोज १५ गते आह्वान गरेको वडा अधिवेशनमा सहभागी हुने गगुडाका नेताहरूले बताएका छन् ।

कांग्रेस गगुडाका युवा नेता तथा अछाम क्षेत्र नम्बर १ (क) का प्रदेश सदस्य डिल्ली साउदले आफूहरू अहिलेसम्म एकताको पक्षमा रहेको बताए ।

उनले चारतारे झण्डा र रुख चुनाव चिह्नसम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले अहिलेको अधिवेशनमा आफूहरू सहभागी नभएको बताए । तर असोज १५ गते हुने भनिएको वडा अधिवेशनमा भने आफूहरू सहभागी हुने साउदले बताए ।

गाउँपालिकाका सात वडामध्ये छ वडामा वडा अधिवेशन सम्पन्न भएपछि चौरपाटी गाउँपालिकाको अधिवेशन भने आज सम्पन्न भएको छ । चौरपाटी गाउँपालिकाको नयाँ कार्यसमिति जयबहादुर साउदको नेतृत्वमा चयन भएको छ ।

ताजा समाचार