महाकालीमा जलसतह खतराको तहभन्दा माथि : शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमन बन्द

प्रकाशित मिति:

महेन्द्रनगर । लगातारको वर्षाका कारण महाकाली नदीमा जलसतह खतराको विन्दुभन्दा माथि पुगेपछि कञ्चनपुरस्थित सीमावर्ती शारदा ब्यारेज (बनबासा पुल) मा चारपाङ्ग्रे सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नदीमा पानीको बहाव एक लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सुरक्षा जोखिमलाई दृष्टिगत गरी दुवैतर्फका चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइएको हो। पुरानो तथा कमजोर संरचना भएको शारदा ब्यारेजमा पानीको सतह उच्च हुनासाथ सुरक्षा संवेदनशीलताका कारण नेपाल–भारत आउजाउ गर्ने ठूला तथा साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन रोक्ने गरिन्छ।

बिहीबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा अविरल वर्षा जारी रहेकाले महाकाली नदीमा बहाव तीव्र गतिमा बढेको हो। भारी वर्षासँगै चुरे तथा भित्री पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा सञ्चालन हुने छोटो तथा लामो दूरीका सार्वजनिक सवारीसाधनसमेत रोकिएका छन्। मौसममा सुधार नआएसम्म सम्भावित विपद्बाट जोगिनका लागि सोमबार बिहानसम्म यातायात सेवा स्थगित राखिने प्रशासनले जनाएको छ।

ताजा समाचार