मधेश प्रदेशमा अविरल वर्षाले ३०० बढी घर डुबानमा: धनुषामा पहिरोले एक जनाको मृत्यु

प्रकाशित मिति:

जनकपुरधाम । अविरल वर्षाका कारण मधेश प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने धनुषामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार धनुषाको मिथिला नगरपालिका–११, अपागाछीमा पहिरोले घर पुरिँदा स्थानीय ३५ वर्षीया कमला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

लगातारको वर्षाका कारण मधेश प्रदेशका सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा निजी घर तथा सार्वजनिक भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको छ। बाढी र वर्षाको पानी बस्तीमा पस्दा सप्तरी जिल्ला सबैभन्दा बढी प्रभावित बनेको छ। प्रवक्ता खनालका अनुसार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका तथा भारतीय सीमावर्ती क्षेत्रका करिब २५० घर डुबानमा परेका छन्।

यस्तै, हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नम्बर ७, ११ र १२ स्थित कोशी बाँधको दक्षिणतर्फ रहेका थप २०० घरमा पानी पसेर जनजीवन अस्तव्यस्त बनेको छ। डुबान क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको र क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार