धनगढीको हवाई यात्रा महँगियो, एकतर्फी भाडा नै २२ हजार रुपैयाँसम्म

प्रकाशित मिति:

धनगढी । चाडपर्व सुरु भएसँगै काठमाडौँ–धनगढी हवाईमार्गको भाडा अत्यधिक महँगिएको छ। सामान्य अवस्थामा नै महँगो भाडा तिर्दै आएका सुदूरपश्चिमका यात्रुलाई चाडपर्व नजिकिएसँगै थप आर्थिक भार परेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ–धनगढी रुटका लागि अधिकतम २१ हजार ६०० रुपैयाँ भाडा निर्धारण गरेको भए पनि एयरलाइन्स कम्पनीहरूले २२ हजार १८० रुपैयाँसम्म टिकट दर पुर्‍याएका छन्। सामान्य समयमा १० हजार ८०० रुपैयाँ हाराहारीमा पाइने टिकट अहिले पाउन छाडेको छ। वायुसेवा कम्पनीका अनुसार सोमबारसम्म सो दरमा सीमित टिकट उपलब्ध भए पनि मङ्गलबारदेखि न्यूनतम भाडा नै १५ देखि १६ हजार रुपैयाँ पुग्ने भएको छ।

चाडपर्वमा काठमाडौँबाट धनगढी जाने यात्रुको चाप अत्यधिक हुने तर धनगढीबाट फर्किने यात्रु न्यून रहने भएकाले एकतर्फी चाप व्यवस्थापन गर्न अधिकतम भाडादर लिनुपरेको विमान कम्पनीहरूको दाबी छ। यद्यपि धनगढी विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले प्राधिकरणले तोकेको अधिकतम सीमाभन्दा बढी भाडा लिन नपाइने स्पष्ट पारेका छन्।

काठमाडौँ–धनगढीको हवाई भाडा भारतको नयाँ दिल्लीसम्मको भन्दा महँगो भएको भन्दै संसद्‌मा समेत आवाज उठ्दै आएको छ। अघिल्लो साता प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले सडक अवरोध र चाडपर्वको मौकामा नागरिकमाथि महँगो हवाई भाडाको भार नथोपर्न सरकार र एयरलाइन्स कम्पनीहरूसँग माग गरेकी थिइन्।

ताजा समाचार