महेन्द्रनगर । तीन वर्षअघि घरमै स्वअध्ययन गरेर एमबिबिएस प्रवेश परीक्षा उत्तीर्ण गर्न सफल कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका ललित सार्कीलाई पालिकाले छात्रवृत्ति प्रदान गरेको छ। कमजोर आर्थिक अवस्थाका कारण तयारी कक्षा लिन नसकेपछि घरमै बसेर नाम निकाल्न सफल ललित त्यसबेला निकै चर्चामा आएका थिए। हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो वर्षमा अध्ययनरत उनलाई भीमदत्त नगरपालिकाले उच्च शिक्षा अध्ययन छात्रवृत्ति उपलब्ध गराएको हो।
छात्रवृत्ति प्राप्त गरेपछि प्रतिक्रिया दिँदै ललितले भने, “भीमदत्त नगरपालिकाले सम्मानसहित छात्रवृत्ति रकम गत वर्ष पनि दिएको थियो। यस रकमले शैक्षिक सामग्री खरिद र अन्य दैनिक खर्च व्यवस्थापनमा निकै सहज बनाएको छ।”
भीमदत्त नगरपालिका शिक्षा शाखाका अधिकृत कलावती मिश्र भट्टका अनुसार पालिकाले एमबिबिएस अध्ययनरत दुई जना विद्यार्थीलाई जनही दुई लाख रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ। ललितसँगै भीमदत्तकै अर्का विद्यार्थी लोकेश भट्ट पनि सोही प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत छन् र उनले पनि यो सुविधा पाइरहेका छन्।
यसैगरी, उच्च शिक्षामा महिलाको पहुँच बढाउने उद्देश्यले नगरपालिकाले गत आर्थिक वर्षदेखि ‘छोरी–बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम समेत सुरु गरेको छ। सोही कार्यक्रमअन्तर्गत नेपाल वेष्र्टन एकेडेमीमा बिबिएस अध्ययनरत अमृता मल्ललाई ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको शिक्षा शाखाले जनाएको छ।
नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले गत वर्ष सात जना छोरी तथा बुहारीलाई कुल चार लाख ५० हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको जानकारी दिइन्। “आर्थिक अभावका कारण कुनै पनि छोरी–बुहारी उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको हो,” उपप्रमुख लेखकले भनिन्, “शिक्षा र स्वास्थ्यलाई पालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ।”
कञ्चनपुरको जेठो यस नगरपालिकाले उपलब्ध गराएको छात्रवृत्तिबाट विद्यार्थीहरूले विशेषगरी प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखेका छन्। हाल एमबिबिएस, इन्जिनियरिङ, नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा तथा मानविकी संकायमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरू लाभान्वित भइरहेका छन्।




