कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले आफूले पाउने मासिक भत्ता रकमबाट वडाका २१५ जना विपन्न तथा बेसहारा नागरिकलाई दसैँ–तिहार खर्च र सुरक्षा सामग्री वितरण गरेका छन्।
शुक्रबार आयोजित कार्यक्रममा वडाध्यक्ष थापाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र दलित समुदायका नागरिकलाई प्रतिव्यक्ति ४५० रुपियाँ नगदसहित छाता र टर्च वितरण गरेका हुन्। विगतका चाडपर्वमा पनि यसरी नै व्यक्तिगत सुविधा कटौती गरेर विपन्न वर्गलाई सहयोग गर्दै आएका थापाले चुनावका बेला गरेको सामाजिक सेवाको प्रतिबद्धतालाई निरन्तरता दिएको बताएका छन्। दसैँको मुखमा आर्थिक सहयोग र सामग्री पाएपछि स्थानीयले खुसी व्यक्त गरेका छन्।






