काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रिक्त रहेका विभिन्न पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि कर्मचारी माग गरेको छ। कम्पनीको केन्द्रीय कार्यालय, पदपूर्ति समितिले गोरखापत्रमा एक सूचना जारी गर्दै दसौँ तहको निर्देशक/प्रबन्धकदेखि तेस्रो तहसम्मका प्राविधिक तथा प्रशासनिक पदहरूमा दरखास्त आह्वान गरेको हो।
लोक सेवा आयोगबाट प्राप्त सहमति तथा कम्पनीको कर्मचारी विनियमावली, २०७८ (संशोधनसहित) को व्यवस्था अनुसार सम्बन्धित सेवा समूहको एक तह मुनिको पदमा कम्तीमा तीन वर्ष स्थायी सेवा अवधि पूरा गरेका तथा तोकिएको न्यूनतम शैक्षिक योग्यता हासिल गरेका कम्पनीका बहालवाला कर्मचारीहरूले मात्र यसमा आवेदन दिन पाउनेछन्।
माग गरिएका मुख्य पदहरूमा दसौँ तहको निर्देशक/प्रबन्धक (टेलिकम), नवौँ तहको उपप्रबन्धक (प्रशासन र लेखा), आठौँ तहको वरिष्ठ इन्जिनियर, वरिष्ठ प्रशासकीय अधिकृत, वरिष्ठ लेखा अधिकृत तथा सातौँ तहका इन्जिनियर, प्राविधिक अधिकृत, प्रशासकीय अधिकृत, व्यापार अधिकृत र लेखा अधिकृत लगायतका पदहरू रहेका छन्। यसैगरी छैटौँ, पाँचौँ तहका वरिष्ठ सहायक र सिनियर टेक्निसियन लगायतका पदहरूमा पनि पदपूर्ति गरिनेछ।
इच्छुक तथा योग्य कर्मचारीहरूले कम्पनीको आधिकारिक वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np मार्फत अनलाइन प्रणालीबाट आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यता तथा नियुक्ति प्रमाणपत्र अपलोड गरी दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ। दरखास्त फाराम आजदेखि आगामी मंसिर ८ गतेसम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरेर मंसिर १० गतेसम्म भर्न सकिनेछ।







