सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ वटा उजुरी : कात्तिक १९ सम्म समय बाँकी

प्रकाशित मिति:
spot_img

काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस गरिएका चार जना प्रस्तावित न्यायाधीशहरूविरुद्ध संसदीय सुनुवाइ समितिमा आठ वटा उजुरी दर्ता भएका छन्। समितिले यही कात्तिक ९ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेकोमा गत शुक्रबारसम्म उक्त सङ्ख्यामा उजुरी परेका हुन्।

उजुरी दर्ता गर्ने अन्तिम समय कात्तिक १९ गतेसम्म रहेकाले यो सङ्ख्या अझै थपिन सक्ने संसद् सचिवालयले जनाएको छ। न्याय परिषद्को गत असोज २० गते बसेको बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा सिफारिस गरेको थियो। सिफारिस हुनेहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी छन्।

संसदीय सुनुवाइ समितिले प्राप्त उजुरीहरूमाथि प्रारम्भिक अध्ययन तथा छानबिन गरेपछि प्रस्तावित न्यायाधीशहरूको कार्ययोजना सुन्ने तथा सुनुवाइ प्रक्रिया अघि बढाउनेछ। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट उनीहरूको औपचारिक नियुक्ति हुने कानुनी व्यवस्था छ।

spot_img

ताजा समाचार