जर्मनीका विभिन्न सहरमा युवा प्रदर्शन हिंसात्मक : पसलहरूमा लुटपाट, प्रहरीसँग झडप

प्रकाशित मिति:
spot_img

काठमाडौं । जर्मनीको आर्थिक राजधानी फ्र्याङ्कफर्टसहित विभिन्न सहरहरूमा महँगी र अनिवार्य सैन्य सेवाविरुद्ध भएका प्रदर्शनहरू हिंसात्मक बनेका छन्। शनिबार अबेर राति प्रदर्शनकारीहरूले पसलहरूमा तोडफोड र लुटपाट गर्नुका साथै सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि प्रहरीसँग झडप भएको हो।

बीबीसीका अनुसार फ्र्याङ्कफर्टबाहेक बर्लिन, कोलोन र ह्यामबर्गमा समेत हिंसाका घटनाहरू भएका छन्। प्रदर्शनकारीहरूले आपत्कालीन सेवाका कर्मचारीहरूलाई लक्षित गर्दै पटाका, ढुङ्गा र बोतल प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो। समाचार एजेन्सी एएफपीका अनुसार फ्र्याङ्कफर्टको मुख्य सपिङ सडक क्षेत्र प्रहरीले बन्द गरेको छ भने हिंसामा संलग्न कैयौँ व्यक्तिलाई पक्राउ गरिएको छ।

दिउँसो ‘जेनजी रेगेल्ट’ नामक अभियान समूहको ब्यानरमा विद्यालयको बजेट कटौती, जीवनयापनको बढ्दो लागत र अनिवार्य सैन्य सेवाको विरोधमा शान्तिपूर्ण प्रदर्शन भएको थियो। फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा करिब १८ हजार युवा सहभागी थिए। फ्रान्समा तीन लाख २० हजारभन्दा बढी युवा सडकमा उत्रिएपछि त्यसको प्रभाव जर्मनीमा पनि देखिएको हो।

अभियानकी प्रवक्ता लीना फ्रेडरिकले आफूहरू युद्ध र जबर्जस्तीको सट्टा शान्ति, स्वतन्त्रता तथा शिक्षा र स्वास्थ्य प्रणालीको सुधारका पक्षमा रहेको बताएकी छन्। दिउँसो शान्तिपूर्ण रहेको आन्दोलन रात परेसँगै हिंसात्मक झडप र लुटपाटमा परिणत भएको थियो।

spot_img

ताजा समाचार