धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशको बजेट निर्माण प्रक्रियामा गम्भीर बेथिति रहेको स्वीकार गरेका छन्। आर्थिक वर्ष सुरु भएको तीन महिनापछि सत्तारुढ दलकै सांसदहरूको असन्तुष्टिबीच पारित भएको बजेटलाई लिएर तीन साता बितिसक्दा पनि विवाद साम्य हुन नसकेका बेला मुख्यमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो।
धनगढीमा आयोजित सुदूरपश्चिमेली नेपाली समाजको चौथो अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले बजेट निर्माणका क्रममा आफूले कल्पनै नगरेको स्तरको बेथिति देखेको बताए। राज्यकोषबाट पार्टी र नेताहरूको व्यवस्थापन गर्ने प्रवृत्ति डरलाग्दो रहेको उल्लेख गर्दै उनले समग्र बजेट प्रणालीमै गम्भीर समीक्षा र सुधार आवश्यक रहेको औँल्याए।
प्रदेशसभा सदस्यहरूको दबाबमा साना तथा टुक्रे योजनाहरू बजेटमा समेटिने गरेको खुलासा गर्दै उनले नेताहरूको दोहोरो चरित्रप्रति असन्तुष्टि जनाए। दिउँसो रूपान्तरणकारी र ठूला योजनाको कुरा गर्ने व्यक्तिहरू नै राति १० लाख रुपियाँका साना योजनाको सूची बोकेर आउने गरेको उनको भनाइ थियो। आफ्नै दलका नेताहरूले ७० देखि ८० लाख रुपियाँसम्मका योजना पर्दा समेत १२ लाखको अर्को योजना नपरेको भन्दै पार्टी हेडक्वार्टरमा गुनासो गरेको प्रसङ्गसमेत उनले सार्वजनिक गरे।
यसअघि आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले समेत बजेटमा बेथिति भएको स्वीकार गरिसकेका छन्। बजेटमाथि छानबिन गर्ने र पूरक बजेट ल्याउने सहमतिपछि मात्र सत्तारुढ दलका सांसदहरूले बजेट पारित गर्न सहमति जनाएका थिए। मुख्यमन्त्रीको पछिल्लो अभिव्यक्तिले बजेट निर्माणमा हुने राजनीतिक दबाब, हस्तक्षेप र टुक्रे योजनाको प्राथमिकतालाई फेरि सतहमा ल्याइदिएको छ।






