कंचनपुर । सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा बस्ती पसेर जनधनको व्यापक क्षति पुर्याउँदै आएका जङ्गली हात्तीको निगरानी गर्न ‘रेडियो कलर’ जडान गरिने भएको छ। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित लालझाडी, चुरे, भावर र कैलालीको वसन्ता कोरिडोर क्षेत्रमा ओहोरदोहोर गर्ने हात्तीको झुन्डलाई ट्र्याकिङ गर्न यो प्रविधि अपनाउन लागिएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले खटाएको प्राविधिक टोली कञ्चनपुर पुगेर आइतबारदेखि नै हात्ती खोजी कार्य सुरु गरिसकेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार निकुञ्ज कार्यालयको माग अनुसार विभागबाट प्राविधिक टोली फिल्डमा खटिएको हो। निकुञ्ज क्षेत्रमा तीनवटा रैथाने भाले हात्ती स्थायी रूपमा बस्ने गरे पनि लालझाडी, चौधर, मालुमेला, पुनर्वास र वसन्ता जैविक मार्गमा करिब ७० वटासम्मको ठुलो झुन्ड निरन्तर ओहोरदोहोर गर्दै आएको छ।
उक्त झुन्डले केही दिनअघि मात्रै कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ मा घर भत्काउनुका साथै लालझाडी गाउँपालिकाको पर्सिया बस्तीमा पसेर बालीनाली नष्ट गरेको थियो। गत वर्ष भीमदत्त–१४ मै हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो।
हात्तीको शरीरमा जडान गरिने रेडियो कलरमा सिमकार्ड रहने र त्यसले निश्चित समयको अन्तरालमा जीपीएस लोकेसन पठाउने प्रमुख संरक्षण अधिकृत अर्यालले जानकारी दिए। यस प्रविधिबाट प्राप्त हुने विवरणका आधारमा मध्यवर्ती क्षेत्र, सामुदायिक वन तथा स्थानीय बासिन्दालाई समयमै सतर्क गराई सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सकिने निकुञ्ज प्रशासनको विश्वास छ।






