बाजुराको बडीमालिकामा हिमपातपछि बेपत्ता कञ्चनपुरका मनिष बोहरा मृत फेला

प्रकाशित मिति:
spot_img

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका क्षेत्रमा भारी हिमपातपछि सम्पर्कविहीन भएका कञ्चनपुरका एक युवक मृत फेला परेका छन्।

कञ्चनपुरको बेदकोट नगरपालिका, दैजी घर भएका २० वर्षीय मनिष बोहरा त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका हुन्। चार हजार दुई सय मिटरको उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा भारी हिमपात भएपछि उनी गत शुक्रबारदेखि सम्पर्कविहीन बनेका थिए।

बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार सम्पर्कविहीन युवकको खोजीका लागि सदरमुकाम मार्तडीबाट हेलिकोप्टरमार्फत सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। खोजीमा खटिएको टोलीले उनलाई त्रिवेणी पाटन नजिकै मृत फेला पारेको हो। मृतक युवकको शव र खोजीमा खटिएका सुरक्षाकर्मीहरूलाई हेलिकोप्टरमार्फत सदरमुकाम ल्याउने प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।

यसअघि, हिमपातपछि सोही क्षेत्रमा अलपत्र परेका कञ्चनपुरकै कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको भने शनिबार दिउँसो हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको थियो। उनी शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा ओत लागेर बसेको अवस्थामा उद्धार गरी मार्तडी ल्याइएको थियो।

spot_img

ताजा समाचार