नियुक्तिपछि तीन महिनाको तालिम लिएर मात्रै कक्षाकोठामा पठाउन आयोगको प्रस्ताव

प्रकाशित मिति:
spot_img

काठमाडौं । सामुदायिक विद्यालयका नवनियुक्त शिक्षकलाई कम्तीमा तीन महिनाको सेवा प्रवेश तालिम दिएपछि मात्रै कक्षाकोठामा पढाउन पठाउनुपर्ने प्रस्ताव शिक्षक सेवा आयोगले अघि सारेको छ।
आयोगले यस्तो प्रस्तावसहितको सोह्र बुँदे सुझाव शिक्षा तथा खेलकुद मन्त्रालयसमक्ष पेस गरेको हो। लिखित परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गर्दैमा शिक्षण सिप र क्षमतामा निपुण नहुने ठहर गर्दै आयोगले तालिमको व्यवस्था गर्न सुझाव दिएको हो।

आयोगका कायममुकायम प्रशासकीय प्रमुख गोविन्दप्रसाद अर्यालले सिधै विद्यार्थीसँग घुलमिल हुन कठिन नहोस् भन्नका लागि तालिमको आवश्यकता औँल्याइएको बताए। गत वर्ष त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षा विकास तथा अनुसन्धान केन्द्र सेरिडले गरेको अध्ययनले पनि परीक्षा उत्तीर्ण गरेका शिक्षकबाट कक्षाकोठामा शिक्षण विधि राम्रोसँग प्रयोग नभएको देखाएको थियो।
सङ्घ, प्रदेश वा स्थानीय तहसँग समन्वय गरेर तालिम सञ्चालन गर्न सकिने आयोगको सुझाव छ। यस्तै, शिक्षकलाई पेसामा टिकाइराख्न द्रुतमार्गबाट भर्ना प्रणाली, कार्यसम्पादनमा आधारित पारिश्रमिक तथा कम्प्युटर विज्ञान, तथ्याङ्क विज्ञान र कृत्रिम बुद्धि एआई जस्ता आधुनिक विषयको दरबन्दी व्यवस्था गर्नसमेत आयोगले सरकारलाई सुझाव दिएको छ।

spot_img

ताजा समाचार