काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको उपाधि यात्रामा कायम रहन काठमाण्डु गोर्खाज र चितवन राइनोजले आज निर्णायक प्रतिस्पर्धा गर्दैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो चार बजे सुरु हुने इलिमिनेटर खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाउनु रहेको छ।
यस खेलमा पराजित हुने टोलीको एनपीएल यात्रा आजै समाप्त हुनेछ भने विजेता टोलीले फाइनल प्रवेशको सम्भावना जीवित राख्नेछ।
लिग चरणका सात खेलमध्ये चार जित र तीन हारसहित काठमाण्डु तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो। यस्तै, तीन जित, तीन हार र एक खेल वर्षाले रद्द भएपछि चितवन चौथो स्थानमा रहँदै इलिमिनेटरमा प्रवेश गरेको हो।
आजको खेल जित्ने टोलीले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम रोयल्ससँग भोलि बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेलको विजेताले आगामी शनिबार लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।






