काठमाडौं । उपभोक्ताको स्वास्थ्य र मासुको स्वच्छतालाई ध्यानमा राख्दै सरकारले ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लाई २८ वर्षपछि कार्यान्वयनमा ल्याएको छ। पहिलो चरणअन्तर्गत गत मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा मासु निरीक्षक खटाएर वधशाला तथा मासु पसलको नियमित अनुगमन सुरु गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयका सूचना अधिकारी डा. मणिरत्न अर्यालले जानकारी दिए। मापदण्ड पूरा भएको स्वच्छ मासुमा निरीक्षकले आधिकारिक छाप लगाएपछि मात्र बिक्री गर्न पाइनेछ।
सरकारले आगामी माघ १ गतेदेखि यो ऐन मुलुकभर लागू गर्ने तयारी गरेको छ। यता, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले ऐन कार्यान्वयन स्वागतयोग्य भए पनि वैज्ञानिक वधशाला र कोल्डस्टोरयुक्त ढुवानी सवारीसाधन जस्ता पूर्वाधार सुधारमा जोड दिनुपर्ने बताए।






