महाकाली बहुप्राविधिक शिक्षालयको चौँथो वार्षिकोत्सव सम्पन्न(फोटोमा हेर्नुहोस)

महेन्द्रनगर । भीमदत्त नगरपालिका अन्तर्गतको महाकाली बहुप्राविधिक शिक्षालयको चौँथो वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिवार भीमदत्त नगरपालिकाका नगरप्रमुख एवम् महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालक समितिका अध्यक्ष पदम बोगटीको अध्यक्षता एवम् सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाको प्रमुख आथित्यतामा शिक्षालयको चौँथो वार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रममा आर्थिक मामिला मन्त्री थापाले युवाहरुलाई स्वदेशमै स्थापित गर्न सीपमुलक एवम् प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेको बताए । ‘युवाहरुलाई स्वदेशमा स्थापित गर्न समेत सीपमुलक एवम् प्राविधिक शिक्षा आवश्यक छ ।’ उनले भने ‘स्थानिय सरकारले न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरुलाई समेत सर्वसुलभ शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले संचालनमा ल्याएको यो शिक्षालयले युवाहरुलाई स्वदेशमै स्थापित गर्ने विश्वास लिएको छु ।’

उनले अगाडी भने ‘शिक्षालयको भवनका लागि प्रदेश सरकारबाट ४० लाख बजेट विनियोजन गरिएको छ । छिटै भवन निर्माणको काम अगाडी बढ्छ र यसको विकासका लागि आगामी दिनमा समेत सहयोग गर्नेछौँ ।’ भीमदत्त नगरपालिकाका निवर्तमान नगरप्रमुख सुरेन्द्र विष्टले सबैको सकारात्मक सोचका कारण यो शिक्षालय यहाँसम्म पुगेको बताए ।

‘सबैको सकारात्मक सोचका कारण यो शिक्षालय यहाँसम्म पुगेको छ ।’ उनले भने ‘यो शिक्षालयको विकास, प्रवद्र्धनका लागि सहयोग तथा निरन्तर लाग्नेछु ।’ यस्तै कार्यक्रमका सभापती एवम् भीमदत्त नगरपालिकाका नगरप्रमुख एवम् शिक्षालय संचालक समतिका अध्यक्ष बोगटीले बहुप्राविधिक शिक्षालयको थप विकासका लागि आफु प्रयासरत रहेको बताए ।

‘पहिले यो बैजनाथ माविको भवनमा रहेको थियो । विद्यार्थीहरुको पठनपाठनमा थप सहज होस् भन्ने उद्देश्यले हामीले अहिले शिक्षालयलाई आफ्नै आइसिएचको भवनमा सञ्चालन गरिएको छ ।’ उनले भने ‘शिक्षालयको भवन निर्माणका लागि प्रदेश सरकारबाट ४० लाख बजेट विनियोजन भएको छ, केहीदिनमै भवन निर्माणको काम अगाडी बढ्छ, छात्रावास, स्कुल बसका लागि समेत हामी प्रायास गरिरहेका छौँ । यसका लागि संघ सरकार र प्रदेश सरकारसंग पहल गरिरहेका छौँ ।’

उनले अगाडी भने ‘अहिले शिक्षालयमा सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, अप्थाल्मिक साइन्स र डिप्लोमा इन फार्मेसी अध्यापन भइरहेको र अनुमती पाएका छौँ । अब प्रमाणपत्र तह नर्सिङ, डेन्टल साइन्स, रेडियो डाइग्नोष्टिक विषयको समेत अध्यापन गर्ने गरि काम र सम्बन्धित निकायमा अनुमतीका लागि पहल भइरहेको छ ।’

भीमदत्त नगरपालिकाका उपप्रमुख एवम् शिक्षालय संचालन समिती उपाध्यक्ष नीलम लेखक जोशीले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको भन्दै शिक्षालयको प्रवर्द्धन तथा विकासका लागि नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरिन ।

कार्यक्रममा अन्य वक्ताहरुले समेत शिक्षालयको थप विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा शिक्षालयको स्थापनामा योगदान पु¥याएका व्यक्ति लाई सम्मान, विभिन्न खेलकुदमा विजयी हुने विद्यार्थी खेलाडीहरुलाई प्रमाण पत्र वितरण, विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नगर प्रवाक्त पदमराज अवस्थी, भीमदत्त नगरपालिका सामाजिक विकास समिति संयोजक एवम् शिक्षालय संचालक समितिका सदस्य सुशिल भट्ट, वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, अभिभावक, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार