महेन्द्रनगर । श्रमिकको हकहित, रोजगारी र सीप विकासका विषयमा विहिवार भीमदत्त नगरपालिकामा एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।
नगरप्रमुख पदम बोगटी र अन्तर्राष्ट्रिय श्रम संगठन तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिहरू बिच छलफल भएको हो । नगरभित्र श्रमिकहरूको न्यूनतम अधिकार सुनिश्चित गर्ने, सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने, सुरक्षित वैदेशिक रोजगार तथा नगरमै स्वरोजगारका अवसर सृजना गर्ने, श्रम डेक्सलाई थप व्यवस्थित गर्ने लगाएतका विषयमा छलफल गरिएको बताइएको छ ।
साथै सरकारले घोषणा गरेको रोजगार दशक लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत छलफल गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधिहरूले नगरपालिकाको सक्रियता र दृष्टिकोणप्रति प्रशंसा व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
श्रम मन्त्रालयका प्रतिनिधिहरूले स्थानीय सरकारसँग सहकार्यमा रही “रोजगार दशक” कार्यान्वयनमा नीतिगत, प्राविधिक र वित्तीय सहयोग प्रदान गरिने बताउनुभयो । नगरपालिकाले श्रमिक अभिलेख प्रणाली सञ्चालन, नगरस्तरीय रोजगारी सूचना केन्द्र स्थापना, श्रम डेस्कको व्यवस्था, महिला, युवा तथा सीमान्तकृत वर्गका लागि सीपमूलक तालिम तथा स्वरोजगार प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ । ।