मुम्बई, भारत: गोयलापानी समाज भारतको प्रथम अधिवेशन तथा होरी विशेष सांस्कृतिक कार्यक्रम आइतबार मुम्बईको मटुङ्गा स्थित तेन्दुलकर हलमा अत्यन्त भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ।
तदर्थ समितिका अध्यक्ष महेशराज रेग्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट प्रमुख अतिथिको रूपमा गोयलापानी समाज का केन्द्रीय अध्यक्ष, गायक तथा लेखक प्राज्ञ यज्ञराज उपाध्यायको गरिमामय उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा समाजका केन्द्रीय महासचिव राहुल रेग्मी सहभागी हुनुहुन्थ्यो।
अधिवेशनले महेशराज रेग्मीलाई सर्वसम्मत तथा निर्विरोध रूपमा अध्यक्ष पदमा चयन गरेको छ। त्यसैगरी उपाध्यक्षमा भरतलाल सिंह र भरतराज रेग्मी, सचिवमा डन्डीराज रेग्मी, सह–सचिवमा डम्बर बि.क., कोषाध्यक्षमा शंकर विश्वकर्मा तथा सदस्यहरूमा निशा हर्षद सिंह, झंकरप्रसाद रेग्मी, चेतराज रेग्मी, दीपक सिंह परियार, गोपाल बि.क., खेमराज रेग्मी र तारा सिंह चयन भएका छन्। नवगठित १३ सदस्यीय कार्यसमितिको कार्यकाल दुई वर्षको रहने जनाइएको छ।

समाजसेवीहरू हर्कबहादुर साउद, रामप्रसाद जोशी, राजेन्द्र थलारी, एम.बी. बोहरा, नरेन्द्र पाण्डे, मदन सिंह थलारी, धोजमान परियार, केशर बोगटी, ललिता मलाती सिंह, भरत कुवर, शरद आउजी लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य मोहन सिंहले राख्नुभएको थियो। बन्द सत्रमा समाजको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजनामाथि छलफल गरी अनुमोदन गरिएको थियो। वक्ताहरूले प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति, भाषा र परम्परालाई जोगाइ राख्न समाजले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ संगठित रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।
सो अवसरमा कार्यक्रममा आर्थिक सहयोग प्रदान गर्ने सहयोगी दाताहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो। साथै, गोयलापानी थातथलो भई हाल मुम्बईलाई कर्मथलो बनाइ विभिन्न पेशा तथा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका चार व्यक्तित्वलाई विशेष कदरपत्रद्वारा सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा बी.एड., एम.ए. तथा एल.एल.बी. उपाधिसहित विगत करिब १५ वर्षदेखि फौजदारी कानुन व्यवसायमा संलग्न अधिवक्ता शारदा महेशराज रेग्मी, गोजोरिया कराते–डोमा पाँचौँ डान प्राप्त गरी कराते क्षेत्रमा २५ वर्षभन्दा बढी समयदेखि सक्रिय रहँदै प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेका शंकर विश्वकर्मा, बी.कम., एम.ए. (अर्थशास्त्र) तथा एल.एल.बी. उपाधिसहित कानुन व्यवसायमा क्रियाशील निशा हर्षद सिंह तथा मेकानिकल इन्जिनियरिङ्ग क्षेत्रमा दक्षता र प्रतिबद्धताका साथ कार्यरत दयाराज रेग्मी रहेका छन्। भारतमा बसेर पनि समाज सेवा का साथै गोयलापानी समाज भारत शाखा निर्माणमा महत्वपूर्ण भूमिका निर्माण गर्नु भएकोमा भारत शाखा का अध्यक्ष महेशराज रेग्मीलाई गोयलापानी समाज केन्द्रिय समिती का तर्फबाट सम्मान गरिएको थियो ।

त्यसैगरी नेपालबाट आउनु भएका प्रमुख अतिथि प्राज्ञ यज्ञराज उपाध्यायले नेपाली भाषा, साहित्य, लोकसंस्कृति, लोकगायन तथा सांस्कृतिक अनुसन्धानका क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदानका लागी र विशिष्ठ अतिथि राहुल रेग्मीले विगत साढे दुई दशकभन्दा लामो समयदेखि समाजसेवा, मानवीय सेवा तथा सामाजिक रुपान्तरणका क्षेत्रमा निरन्तर समर्पित रही उल्लेखनीय योगदान गरे बाफत गोयलापानी समाज भारतले सम्मान पत्र सहित उहाँहरुलाई सम्मान गरेको हो।
सांस्कृतिक कार्यक्रमअन्तर्गत गायक यज्ञराज उपाध्यायले आफ्ना चर्चित गीतहरू “राईझुमा”, “साली ढल्काई दे कानका बाली” र “जुनतारा” प्रस्तुत गरी कार्यक्रममा विशेष आकर्षण थप्नुभएको थियो। होरी विशेष सांस्कृतिक कार्यक्रममा सहभागीहरूले होरी पर्व मनाउँदै होरी, न्याउल्या (डेउडा खेल), सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।


