महेन्द्रनगर। सुदूरपश्चिमको कला, संस्कृति र देउडा क्षेत्रका चर्चित गायक गणेश सिंह र लोकप्रिय गायिका पूर्णकला बीसीको सुमधुर स्वरमा सजिएको नयाँ देउडा गीत ‘गलि परानको’ सार्वजनिक भएको छ। मौलिक पन र उत्कृष्ट लय संकलनका साथ तयार पारिएको उक्त गीत भर्खरै बजारमा ल्याइएको हो।
राजेन्द्र शाह ‘बीपी’ को उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको यस गीतलाई चर्चित एरेन्जर विनोद बाजुरेलीले सङ्गीत संयोजन (एरेन्ज) गर्नुभएको हो। गीतको रेकर्डिङ काठमाडौँको चर्चित मालश्री स्टुडियोमा गरिएको निर्माण पक्षले जनाएको छ।
भिडियोमा स्थानीय कलाकारको सशक्त अभिनय
गीतको म्युजिक भिडियोलाई अनुभवी निर्देशक भीम थापाले निर्देशन गर्नुभएको हो। भिडियोको मुख्य भूमिकामा गायक स्वयम् गणेश सिंह र चर्चित मोडल कल्पना लेखकको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
उहाँहरूका साथमा गोविन्द, बल्लभ भट्ट, सुरेश चन्द, गगन धामी, लक्ष्मण अधिकारी, प्रदीप पाल र मीन धानुक लगायतका कलाकारहरूको समेत भिडियोमा सशक्त अभिनय रहेको छ। सुदूरपश्चिमको प्राकृतिक सुन्दरतालाई कैद गरिएको उक्त भिडियोको छायांकन अमृत उपाध्यायले गर्नुभएको हो भने कलाकारहरूको श्रृङ्गार (मेकअप) मेनुका साउदले गर्नुभएको छ।पछिल्लो समय देउडा संगीतमा मौलिकता हराउँदै गएको गुनासो बढिरहेका बेला यो गीतले सुदूरपश्चिमको वास्तविक सुगन्ध र संस्कृतिलाई जीवन्त राख्ने विश्वास गरिएको छ।



