काठमाडौं । डिजिटल प्रविधिको तीव्र विस्तारसँगै साइबर सुरक्षाको चुनौती थपिइरहेका बेला बाँकेका युवाहरूलाई लक्षित गरी विशेष सचेतना कार्यक्रम आयोजना गरिएको छ। लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको तत्त्वावधानमा “साइबर सुरक्षा तथा डिजिटल साक्षरता” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा युवा पुस्तालाई प्रविधिको सुरक्षित प्रयोग, सामाजिक सञ्जालको जिम्मेवार उपयोग र सम्भावित साइबर अपराधबाट जोगिने व्यावहारिक उपायहरूबारे विस्तृत जानकारी दिइएको परिषद्का कार्यकारी उपाध्यक्ष हंसराज खनालले बताउनुभयो।
कार्यकारी उपाध्यक्ष खनालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाले वर्तमान समयमा युवाहरूका लागि डिजिटल साक्षरता अपरिहार्य बनिसकेको धारणा राख्नुभयो। यस्ता चेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो। कार्यक्रममा सहजकर्ताको रूपमा रहनुभएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश बिष्टले हालका दिनहरूमा साइबर अपराधसँग सम्बन्धित उजुरीहरू डरलाग्दो गरी बढिरहेको जानकारी दिनुभयो। अहिले भइरहेका साइबर अपराधका घटनामा युवा पुस्ता नै बढी जोडिएको र पीडित हुनेहरूमा पनि युवाहरूकै सङ्ख्या धेरै भएकाले प्रविधिको प्रयोग गर्दा प्रत्येक नागरिक सचेत हुनुपर्ने अवस्था आएको प्रहरी निरीक्षक बिष्टको भनाइ थियो।
यसै गरी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक केशव पौडेल र अधिकारकर्मी प्रकाश उपाध्यायले पनि कार्यक्रममा सहजकर्ताको भूमिका निभाउँदै इन्टरनेटको दुनियाँमा हुन सक्ने अनलाइन ठगी, व्यक्तिगत गोपनीयताको रक्षा र डिजिटल माध्यममा नागरिकको जिम्मेवारी जस्ता विषयमा प्रकाश पार्नुभयो। सहजकर्ता उपाध्यायका अनुसार यस अभियानले युवाहरूलाई डिजिटल संसारलाई सुरक्षित, उत्तरदायी र रचनात्मक ढंगले प्रयोग गर्न उत्प्रेरित गरेको छ। परिषद्का अधिकृत प्रेमराज रावतका अनुसार कार्यक्रममा बाँकेका विभिन्न कलेज तथा शैक्षिक संस्थाहरूमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूको ठुलो र उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरू बिन्दु शर्मा र खुस्बु केसीले सामाजिक सञ्जालको सुरक्षित प्रयोग कसरी गर्ने र साइबर असुरक्षाबाट कसरी बच्ने भन्नेबारे धेरै व्यावहारिक ज्ञान सिक्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो। सूचना प्रविधिको यो युगमा युवाहरूलाई सुरक्षित राख्न यस्ता अभियानहरूलाई निरन्तरता दिनुपर्ने निष्कर्ष सरोकारवालाहरूले निकालेका छन्।



