रामलीलामा भगवान् रामको भूमिका निभाउने कलाकारसहित पाँच जना मोटरसाइकल चोरी प्रकरणमा पक्राउ

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सञ्चालन भइरहेको रामलीलाका क्रममा तीनवटा मोटरसाइकल चोरी भएको घटनामा भगवान् रामको भूमिका निर्वाह गर्ने कलाकारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दोधारा चाँदनी नगरपालिका–७ का गणेश भट्ट र रामलीला मैदानका ठेकेदार सिद्धार्थ सुनारसहित पाँच जना रहेका छन्। रामलीला मञ्चन भइरहेका बेला फरक–फरक मितिमा सुदूरपश्चिम प्रदेश ०२–००३ प ५७१२, सुदूरपश्चिम प्रदेश ०२–००४ प ०९९६ र भारतीय नम्बर प्लेट यूके ०६ जेड ८२९३ गरी तीनवटा मोटरसाइकल चोरी भएका थिए।

प्रहरीका अनुसार मैदानका ठेकेदार सिद्धार्थ सुनारले चोरीको मोटरसाइकल पाँच हजार रुपियाँमा खरिद गरेको र रामको भूमिका निर्वाह गर्दै आएका गणेश भट्टले आफ्नो भारतीय नम्बर प्लेट जोडेर उक्त मोटरसाइकल चलाइरहेको अवस्थामा फेला परेको हो। चोरी भएका मोटरसाइकलमध्ये सुदूरपश्चिम प्रदेश ०२–००३ प ५७१२ नम्बरको मोटरसाइकल इलाका प्रहरी कार्यालय नजिकै सडक किनारमा फेला परेको थियो भने अर्को भारतीय नम्बर प्लेट फेरबदल गरिएको मोटरसाइकल पनि बरामद भएको छ। सुदूरपश्चिम प्रदेश ०२–००४ प ०९९६ नम्बरको अपाचे मोटरसाइकल भने अझै फेला परेको छैन।

पक्राउ परेलगत्तै रामलीला सञ्चालन समितिले गणेश भट्टलाई भगवान् रामको भूमिकाबाट हटाएर अर्को कलाकारलाई जिम्मेवारी दिएको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनामाथि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले थप कानुनी अनुसन्धान अघि बढाएको छ।

spot_img

ताजा समाचार