काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमलाकुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबिच मङ्गलवार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । उक्त उच्चस्तरीय भेटघाटका क्रममा दुई पक्षबिच नेपाल–चीन सम्बन्ध, द्विपक्षीय व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्य लगायतका विविध हितका विषयमा गहन छलफल भएको छ ।
भेटवार्ताका क्रममा उपाध्यक्ष भण्डारीले नेपाल र चीनबिचको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, शताब्दीऔँ पुरानो सामीप्यता र पारस्परिक संवेदनशीलताको सम्मानमा आधारित रहेको उल्लेख गर्नुभयो । नेपाल ‘एक-चीन सिद्धान्त’ प्रति दृढ र प्रतिबद्ध रहेको स्पष्ट पार्दै उहाँले नेपाली भूमिबाट चीनको हितविपरीत कुनै पनि किसिमका गतिविधि हुन नदिने प्रतिबद्धता समेत दोहोर्याउनुभयो ।
चीनको सिजाङ क्षेत्रसँगको आर्थिक सहकार्यबारे चर्चा गर्दै उपाध्यक्ष भण्डारीले व्यापार, पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा भइरहेको प्रगतिप्रति खुसी व्यक्त गर्नुभयो । हाल सिजाङ र नेपालबिचको व्यापारले नेपाल–चीन कुल व्यापारको करिब एक तिहाइ हिस्सा ओगटेको जानकारी दिँदै उहाँले सन् २०२५ को पहिलो छ महिनामा मात्रै २.१९ अर्ब युआन बराबरको व्यापार भएको र यो अघिल्लो वर्षको तुलनामा २२.१ प्रतिशतको उत्साहजनक वृद्धि भएको बताउनुभयो ।
उहाँले नेपाल–सिजाङ आर्थिक तथा व्यापार सहजीकरण समितिको १३औँ बैठक गत जुन २०२५ मा ल्हासामा सफलतापूर्वक सम्पन्न भइसकेको र १४औँ बैठक यसै वर्ष काठमाडौँमा आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । साथै, धुलिखेल नगरपालिका र अली प्रिफेक्चरबिच भगिनी सम्बन्ध स्थापना भएको विषयलाई पनि उहाँले सकारात्मक रूपमा लिनुभयो ।
अन्तरसंसदीय सहकार्यको महत्त्वमाथि प्रकाश पार्दै उपाध्यक्ष भण्डारीले प्रतिनिधिसभा र चिनियाँ राष्ट्रिय जनकांग्रेसबिच सन् २०२२ मा भएको समझदारीपत्र द्विपक्षीय सम्बन्धमा महत्त्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गर्नुभयो । आगामी दिनमा सङ्घीय संसद्मा नेपाल–चीन संसदीय मैत्री समूह गठन गर्ने योजना रहेको जानकारी समेत उहाँले दिनुभयो । सिजाङ क्षेत्रले पूर्वाधार विकास, आर्थिक समृद्धि तथा जनजीविकाको सुधारमा हासिल गरेको लोभलाग्दो उपलब्धिले नेपालका लागि समेत थप आर्थिक अवसरहरू सिर्जना गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।



